Thursday, September 7, 2017

२ नं. प्रदेशमा ६८ हजार सुरक्षाकर्मी परिचालन

२ नं. प्रदेशमा ६८ हजार सुरक्षाकर्मी परिचालन

वीरगन्जः आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि दुई नम्बर प्रदेशमा ८ जिल्लामा विशेष सुरक्षा व्यवस्था गरिने भएको छ । अधिकांश जिल्लाका मतदान केन्द्रहरु संवेदनशील मान्दै सुरक्षा निगरानी व्यापक बनाइने भएको हो ।
निर्वाचनलाई लक्षित गरि दुई नम्बर प्रदेशमा ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनमा भित्री घेरा नेपाल प्रहरी, मध्यम घेरा सशस्त्र प्रहरी र अन्तिम सुरक्षा घेराका लागि नेपाली सेना परिचालन गरिएको छ । मतदानकेन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आचारसंहिता अनुगमनका लागि प्रदेश २ का प्रत्येक जिल्लामा दुई जना सहसचिव खटाईएको निर्वाचन आयोगका आयुक्त सुधिरकुमार शाहले जानकारी दिए । अधिकांश क्षेत्रलाई संवेदनशील मानिएकाले त्यसै अनुरुपको सुरक्षा तयारी भएको उनले बताए ।
संवेदनशील केन्द्रमा ध्यान
असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सप्तरीमा तोकिएका मतदान केन्द्रहरु सबै सबेदनशील र अति संबेदनशिलको सुचीमा राखिएको छ । ९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा कुल २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र तोकिएको छ ।
तीमध्ये ३ सय २४ मतदान केन्द्र संबेदनशिल र १ सय ३८ मतदान केन्द्र अति संबेदनशील रहेको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार संबेदनशिल रहेका मतदान केन्द्रहरुमा कम्तीमा ९ र अति संबेदनशीलमा कम्तीमा ११ जना नेपाल प्रहरी परिचालित रहनेछन् ।
यसैगरी नेपाली सेनाले नियमित गस्ती गर्ने गरी सुरक्षा ब्यबस्थापन मिलाइएको छ । भारतीय सिमासित जोडिएको मतदान केन्द्रहरुमा सुरक्षालाइ थप ब्यबस्थित वनाउन भारतीय अधिकारीहरुसित पनि छलफल भइरहेको उनले जनाए ।

No comments:

Post a Comment